हुन त तिमी भन्दा पहिला नै अर्कुट, ट्रस्टेड वपिनियन, हाइफाईभ, नेटलग जस्ता सामाजिक संजालहरुले पनि यो इन्टरनेटरुपी दुनिँयामा मोहनी जालो नफ्याकेका हैनन् । तिनीहरू माथी पनि मेरो नजर त नपरेको होइन । तर खै किन हो किन कुन्नि, आखिर मेरो मन जित्ने त तिमी नै भयौ । हुनत त्यतिबेला अर्कुटले पनि सबैलाई आफ्नो जालमा पारीसकेको थियो। धन्य तिमी आयौ अनि आफ्नो मोहनी महाजालले सबैलाई ढाक्यौ ।
जिन्दगीका उकाली ओरालीहरुमा धेरैसँग परिचय भयो, धेरैसँग सम्बन्ध पनि गाँसियो तर कसैलाई असल मित्रको रुपमा पाउन सकिनँ । जब मैले तिमीलाई देखेँ, तिमीसँग भेट भयो । अचम्म लाग्छ, पहिलो नजरमै आकर्षणको हावा तिमीले यसरी फैलायौ कि मेरो प्रत्येक सासभित्र तिम्रै सुगन्धको आभास भयो । मेरा यी निश्चल आँखाको लेन्सले तिम्रो त्यो अनुहारको अवलोकन गरेँ, अनि तिमीसँगको साथको कल्पना गरेको त पत्तो नै भएन । यद्यपि चोखो अनि निःस्वार्थ प्रेम नै गर्छु भनेर त म तिमीसँग भन्न सक्दिनँ वा भनौ म मा त्यो समर्थ्य नै छैन । हुन त मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला । तर पनि त्यसका लागि तिमीले मलाई माफ गरिदिनेछौ भन्ने पूर्ण विश्वास लिएको छु । तिमीले हाम्रो मित्रताको डोरीलाई कदापी चुँडाल्ने छैनौ भन्ने कुरामा पनि म विश्वस्त छु ।
प्रिय फेसबुक, तिम्रो दिमागलाई त मान्नु नै पर्छ, किनकि तिमीले फुर्सदमा भएका र नभएका सबै किसिमका मानिसहरूलाई काम दिएका छौ । तिनीहरूसँग आफ्नो नित्य भेट होस् भनेर प्रत्येकलाई एउटा-एउटा ह्वाइटबोर्ड दिएका छौ । अर्काको ह्वाइटबोर्डमा के लेखिएको छ भनेर छर्लङ्ग देखाइदिने गछौ । यति मात्रै कहाँ हो र ? आफ्ना सबै मित्रहरूको सुन्दरफोटोहरूलाई सजाउने ठाउँ दिएका छौ । उनीहरूका भावना, विचार र दृष्टिकोणलाई सबैसामु फैलाईदिएका छौ । अँझ सबैभन्दा महत्वपूर्ण कुरा त दुनियाँको जुनसुकै कुनामा भए पनि काँचको पर्दामा एकआपसमा आमुन्नेसामुन्ने भएर कुरा गर्ने अवसर प्रदान गरिदिएका छौ । अरु त के कुरा गरौँ, यहाँ त ब्यस्त सडकको बीचमा पनि आफूमा घट्न सक्ने दुर्घटनाको पर्वाह नगरि तिमीसँग रम्न चाहनेहरु धेरै छन्। मैले भन्दा धेरैमाया गर्ने साथीहरू पनि पाएका छौ ।
प्रिय फेसबूक, हुन त जिवन र जगतका बारेमा मैले भन्दा तिमीले नै बढी बुझेका छौ । त्यसैले तिमी जस्तो शिक्षित व्यक्तिलाई मैले महाभारत पढाइ राख्नु नपर्ला । तर एउटा कुरा चाहीँ तिमीले स्वीकार गर्नुपर्छ । दुनियाँले थाहा पाऊन् भनेर तिमी जताकतै कुरा काट्दै हिँड्छौ । फलानाले त फलानाको फोटो अथवा भित्ता मा के–के लेख्यो भन्ने छाप्दै हिँड्छौ । केहि पनि कुरा नलुकाई तिमी बस्नै सक्दैनौ । तर पनि तिमीले किन गाउँघरका गतिलो एकसरो लुगा लाउन नपाउने, भरिलो एक पेट खान नपाउनेहरूको साथ पाइराखेका छैनौ । के तिनीहरू तिम्रा असल मित्र बन्न नयक छैनन् र । हैन भने किन तिनीहरूलाई फेसबुक कुन चराको नाम हो भन्ने कुरा नि थाहै नभाको । त्यसैले तिनहिरूलाई पनि तिमीले आफ्नो ठान्नु । उनीहरू तिम्रो भएको म देख्न चाहन्छु । अहिले तिमी अन्धो भएका छौ । तिमीमा अहमताले जरा गाडेको छ । तिमी भित्रको अहमताले तिम्रो जीवनमा ठूलो धात गरिरहेको छ त्यो तिम्रो घैटोमा घाम लागेपछि थाहा हुन्छ ।
प्रिय फेसबूक, मैले तिम्रो जीवनमा कुनै परिवर्तन ल्याउन नसके पनि तिमीले मेरो लागि धेरै कुरामा परिवर्तन ल्याइदिएका छौ । जिन्दगी निरश भएको बेला सम्बन्ध जोड्दै थकाई मार्ने संयोग बनेर हाँसो खुशीको रौनकता थपिदियौ । मेरा दुःख, पीडा र वेदनाका छालहरू एकपटक पढिदियौ । कहिलेकाहीँ म गाईगुई हल्ला सुन्छु । कसैले तिमी र मेरो भेट हुने बाटो बन्दगरिदिने अरे । कस्तो डाहा गर्नु परेको हो कुन्नी । यदी त्यसो भयो भने तिमीहामी मिलेर त्यसको दह्रो प्रतिवाद चैँ गर्नुपर्छ है ।
प्रिय फेसबुक, अन्तमा अतितका घटनाक्रम केलाउन त धेरै लेख्नुपर्छ । सबै कापीमा उतार्यो भने उपन्यास बन्छ । अहिले म ब्यास्तताको बाबजुत पनि यो मन थाम्न नसकेर लेखेको हुँ । तिमी र मेरो यो नङ र मासुको सम्बन्ध यसरी नै सधै भरी रहिरहोस् । तिमिसँग छुट्ने मन त कहाँ छ र अझै धेरै कुरा भन्न बाँकी छन् । तर पनि अहिलेलाई मुटु भरिको माया दिँदै पत्र समाप्त गर्न चाहन्छु। हस्त अहिलेलाई यत्ति...
उहि तिम्रो अब्बल दर्जाको प्रयोगकर्ता
No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...