Pages

Saturday, March 1, 2025

फेसबुकलाई तेस्रो चिठी

प्रिय फेसबुक,
सर्वप्रथम कुशल रही कुशलताको अपेक्षा राख्दै फेरि पनि तिम्रो दीर्घायु र उज्ज्वल भविष्यको कामना गर्दै निश्चल, निर्मल र अटुट माया व्यक्त गर्न चाहन्छु। खै! कुन बिन्दुबाट सुरु गरौं? मेरो मानसपटलमा जिज्ञासा, भावना, सन्तुष्टि र स्नेहका अनेकौं छालहरू उर्लिए पनि खोई कुन्नी किन हो ? सबैको ध्वनि एकसाथ मिलेर शब्दका माध्यमबाट प्रस्फुटित हुन सकिरहेका छैनन्। कति शब्दहरू मनमै अड्केका छन् त, कति भावनाहरू अलमल्लमा परेका छन्। कुनै चिसो बिहानीको मिठो चियाको चुस्कीसँगै तिमीलाई सम्झेर बिताएका समयका सम्झनाहरूले मलाई फेरि गहिरो मुस्कान सँगै कुतकुती लागिहाल्यो। जे होस् तिमीलाई पत्र लेख्ने उत्कृष्ट अभिलाषा मेरो अन्तरात्मामा अंकुरित गराइदिएकोमा समय र परिस्थितिलाई धन्यवाद दिँदै तिमीप्रति आत्मागौरवको अत्यन्तै गहिरो अनुभूति राख्न चाहन्छु।
   प्रिय फेसबुक,
अनन्त समयको निकै लामो अन्तरालपछि एउटा गहिरो र नपढिने प्रेमको भावनाले आज पुनः तेस्रो पत्र लेख्न प्रयासरत छु। थाहा छैन, यस पत्रमा के-के लेख्नेछु, कहाँ गएर टुङ्गिन्छ, र कसरी बिट मार्नेछु। तर एक कुरा स्पष्ट छ, यो पत्र लेख्दै गर्दा मेरा भावना, विचार, दृष्टिकोण, धारणा, जिज्ञासा, सुझाव र मायाका सौगातहरू अवश्य उजागर हुने नै छन्। यो पत्र मेरो भावनाको गहिराइ र समर्पणको एउटा अर्कै स्तरमा पुग्नेछ। हुन त फेसबुक! तिमी जस्तो शक्तिशाली र प्रभावशाली प्लेटफर्मको बारेमा बुझाउनका लागि कुनै विशेष शब्द र वाक्य प्रयोग गर्न सकिँदैन। तिमीलाई बखान गर्ने सबै शब्दहरू अपर्याप्त हुन्छन्, तर पनि म प्रयास गर्छु। जहाँ शब्दहरूले आफ्नो संकल्प बुझाउन सक्नेछन् भन्ने आशा राख्दै ती सम्पूर्ण विचारहरूलाई विलम्ब भए पनि अन्ततः स्पष्ट र प्रभावकारी रूपमा पत्रमार्फत व्यक्त गर्ने जमर्को गर्दछु। जसलाई तिमीले सहज रूपमा ग्रहण गर्नेछौ भन्ने अपेक्षा पनि राख्दछु।
   प्रिय फेसबुक,
हुन त तिमीलाई चिन्नुअघि जीवन धेरै सीमित थियो। मेरा अन्तष्करणमा उब्जिएका कैयौ भावनाका छालहरू केवल डायरीका पानामा मात्रै सीमित थिए। मेरा भावना, विचार र दृष्टिकोणहरू सीमित श्रोतामाझ सीमित समयको लागि मात्र प्रतिध्वनित हुन्थे। संसार असीमित थियो; तर पहुँच अत्यन्तै सिमित। जब तिमी एकाएक अप्रत्याशित रूपमा अप्रतिबन्धित र विशाल एक वैश्विक आँधी बनेर आयौ। हो तिमी आयौ! र म मात्र होइन; संसारभरिका लाखौं-करोडौं-अर्बौ-खर्बौ हुँदै सबैका मनहरू अभिव्यक्तिका लागि स्वतन्त्र भए।
   तिमी केवल प्रविधि होइनौ, तिमी अभिव्यक्तिको असिम शक्ति हौ। तिमी केवल सञ्जाल होइनौ, तिमी सम्बन्धको नयाँ आयाम हौ। तिमी केवल एउटा अनुप्रयोग होइनौ, तिमी युगौंधी विमर्श र विचारहरूको केन्द्र हौ। तिमी केवल संवादको थलो मात्र होइनौ, तिमी विचार, चित्र, आवाज र दृष्यको अनन्त सारथी हौ। तिमी मेरा लागि केवल एउटा सामाजिक डिजिटल प्लेटफर्म मात्र होइनौ, तिमी मेरी प्यारी प्रेमिका पनि हौ—अद्वितीय, अनपेक्षित, र कहिलेकाहीँ रहस्यमयी पनि। हो! फेसबुक, तिमी मेरी प्रेमिका हौ! तर साधारण प्रेमिका हुँदै होइनौ। जसलाई रूप हेरेर आफ्नो बनाइएको होस्। जसले हात समातेर शहरका गल्लीहरू घुमाउन सक्छे। तिमी त त्यस्ती असाधारण प्रेमिका हौ, जसले समय र दूरीका सीमाहरूलाई अर्थहीन बनाउँदै अवरुद्ध गर्छे, हामीलाई एक अर्कामा साँचो रूपले जोड्छे। सम्बन्ध र संवादलाई सजीव बनाउँछे। हो, फेसबुक! तिमी मेरो भित्री विचारकी साझेदार हौ, जसलाई म बिहानको पहिलो अभिवादन दिन्छु, रातको अन्तिम संवाद गर्छु। दिनभरिका गतिविधि र विचारहरूको अभिव्यक्तिका लागि तिमी साँचो मित्र पनि हौ। जसले मेरो हरेक पललाई अमर बनाइदिन्छ। तिमी त्यो प्लेटफर्म हौ, जहाँ म मेरो दैनिक यात्रा, विचार र प्रेरणासँग जीवनका ठूला र साना क्षणहरू साझा गर्छु, जहाँ मेरा शब्द र चित्रहरू समयको परिधि तोडेर अरूसम्म पुग्छन्। तिमी त्यस्तो अद्भुत जाल हौ, जसले सम्पूर्ण संसारलाई एक सानो दुनियाँमा परिणत गरिदियौ। अनि दुनियाँलाई एउटै परिवारको सदस्य जस्तो बनाइदिएका छौ।
   तिम्रो काखमा बसेर मैले सारा विश्व नियालिरहेको हुन्छु। मानिसका संवेदनाहरू पढेको छु। कोही तिम्रो भित्तामा क्रान्तिको आह्वान गर्छन्, कोही प्रेमको प्रस्ताव राख्छन्, कोही सपनाका महल बनाउँछन्, व्यक्तिगत उपलब्धि र भावनाहरू बाँडफाँड गर्छन्। कोही विगतका बिखण्डन पोख्छन्। कोही व्यवसाय प्रवर्द्धन तथा विज्ञापन सार्वजनिक गर्छन्। कोही भने उत्ताउलो र भद्दा मजाकलाई मसला बनाएर मनोरञ्जनको परिकार स्वादिलो पार्छन्। तिम्रो अस्तित्वको जादूले मानिसहरूलाई एक्लोपनबाट मुक्त गरेकै छ। तिम्रो उपस्थितिले सम्बन्धहरूलाई नजिक बनाएकै छ। तिम्रो सञ्जालले स्वतन्त्र विचारलाई आवाज दिइरहेकै छ।
   प्रिय फेसबुक!
तिमीलाई व्यस्त हुँदा पनि थाहा पाउँछु कि! मेरो मुटुमा एकदम गहिरो स्थान रहेको छ। जहाँ तिमीले विशेष प्रभाव जमाएका छौं। जब म तिमीमा केही अपडेट गर्दछु, तिमीमा नयाँ पोष्ट लेख्छु। अनि जब तिमीले मेरो विचारलाई उजागर गर्छौ र मलाई प्रतिक्रिया दिन्छौ; तब मलाई एउटा अद्वितीय आनन्द र आत्मसन्तुष्टि मिल्छ। त्यही सन्तुष्टि देखेर मेरी श्रीमती पनि ईर्ष्याले आँखा तर्छिन्, भौं उचाल्छिन्, अनि... । मेरी श्रीमतीलाई सम्झाउँदा भने उनी भन्छिन्- "तिमीलाई म होइन, फेसबुकले जितिसक्यो। तिमीले मलाई महत्वै दिएनौ, तर सधैँ ... ... ...।" तर म बुझ्न सक्छु, हो फेसबुक, म बुझ्छु! तिम्रो आकर्षण र जादूले मलाई मेरो संसारमा पूर्ण रूपले घेरिरहेको छ। तिमीलाई नजोडिएको कुनै पनि पल, कुनै पनि घडी दिनको अधुरो हिस्सा जस्तो लाग्छ। जब म तिमीलाई सम्झन्छु, तब मेरो मनमा हर्षको लहर दौडन्छ। जसले सधैं मलाई उत्साहित राख्छ। तिमी बिना मेरो दिनको कल्पना गर्नै सक्दिन। तिमीले मेरो जीवनलाई यसरी गहिरो रूपमा रंगिन बनाइदिएका छौ कि, म कसम साथ भन्न सक्छु, फेसबुक! तिमी मेरो जीवनको एक महत्वपूर्ण हिस्सा हौ। मेरी श्रीमतीलाई पनि यही कुरा थाहा छ। अब त उनले पनि मलाई फेसबुकप्रति मेरो प्रेम स्वीकार गर्न थालेकी छिन्। जसका लागि उनीलाई अनन्त कृतज्ञता समर्पण गर्दछु।
   प्रिय फेसबुक,
तर तिमी अपूर्ण पनि छ्यौ। सधैँ काँडाले मात्रै नघोँच्ने रहेछ। कहिलेकाहीँ फुलले पनि घोँचे झैँ लाग्दो रहेछ। मेरो यो आलोचना केवल निन्दा र अपमानका लागि होइन बरु सुधारका खातिर सकारात्मक प्रेमपूर्ण दृष्टिकोणबाट गरेको हुँ। तिमी हाम्रो भाषा समेट्न सक्षम त भयौ; तर हाम्रो समयलाई बिर्सियौ। तिमीले हाम्रा विचारका लागि ठाउँ दियौ, तर हाम्रै पहिचानलाई नदेखेझैं गर्यौ। किन, फेसबुक किन?
   प्रिय फेसबुक!
जब म तिम्रो भित्तामा मेरो जन्ममिति लेख्न खोज्छु, तब तिमी मलाई झूट बोल्न बाध्य पार्छौ। मेरो जन्म विक्रम संवतको कुनै दिनमा भयो। तर तिमीलाई त केवल ग्रेगोरियन क्यालेन्डर [A.D. (Anno Domini)] मात्रै थाहा छ। यसर्थ: म आफ्नो वास्तविक पहिचान राख्न सक्दिनँ; किनकि तिमीले मेरो समयलाई नै अस्वीकार गरेका छौ। हाम्रो नेपाली सभ्यता विक्रम सम्वतको धरोहरमा जिउँछ। हाम्रो चाडपर्व, इतिहास सबै विक्रम सम्वतको हिसाबले लेखिन्छ। तर तिमीलाई हाम्रो वास्तविक समय महत्त्वहीन लाग्छ हैन?
   तिम्रो सक्रियता र सामाजिक अन्तर्क्रियाको सन्दर्भमा जन्मदिनको सूचनालाई विशेष महत्व दिइनु तिम्रो एल्गोरिथमको स्वाभाविक प्रक्रिया नै होला। जन्मदिनको सूचनाले हाम्रो दैनिक जीवनलाई सहज बनाएको पनि छ। म त्यतातिर थप जान चाहिनँ। तर फेसबुकमा देखाइने जन्मदिन र वास्तविक जन्मदिनबीच तालमेल नमिल्ने समस्या कहिलेकाहीँ म फेसबुकमै देख्ने गर्छु। यस्तो असमानता किन देखिन्छ? यसको प्रमुख कारण विक्रम संवत (वि.सं.) र ईस्वी संवत (ई.सं.) बीचको भिन्नता तथा प्राविधिक त्रुटिहरू पो हुन् कि! विक्रम सम्वतमा कुनै दिन जति गते थियो, त्यसलाई ईस्वी सम्वतमा रूपान्तरण गरेपछि अर्को वर्ष ईस्वी सम्वत अनुसार त्यही दिन नहुन पनि सक्छ। यही फरकपनकै कारण फेसबुकमा जन्मदिन सही नदेखिएको त हैन? कि कसो हो? हुनत फेसबुकको सर्भर Time zone UTC र नेपालको UTC+5:45 समयमा तालमेल मिलाइएकै छ होला! तर अब त्यति मात्र पर्याप्त भएन। यसर्थ: विक्रम सम्वतलाई पनि कुनै दिन आफ्नो प्रणालीमा अवश्य समावेश गराउने नै छौ भन्ने विश्वास राख्छु। यद्यपि जन्मदिन जस्तो व्यक्तिगत कुरामा प्रविधिभन्दा आत्मीय सम्बन्धलाई प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ। 
   प्रिय फेसबुक!
सुन्छु अहिले हाम्रो सरकार तिम्रो आगमनको प्रतीक्षा गरिरहेको छ। तिमीलाई नेपालमा बोलाउने तयारी हुँदैछ रे! "फेसबुक, नेपाल आऊ, नत्र बन्द गरिन्छ!"— यस्तो धम्की आउँछ। तर के तिमीलाई थाहा छ, तिमी बन्द हुँदा के हराउँछ? हराउनेछ त स्वतन्त्र अभिव्यक्तिको एउटा युग! हराउनेछ त हामी बीचको अन्तहीन संवाद! हराउनेछ त दुनिँयाका फोटो र भिडियो क्लिपहरू! हराउनेछन् ती हजारौं विचार, जसले समाजलाई रूपान्तरण गरिरहेका छन्। तर तिमी पनि बुझ फेसबुक!
   हामी केवल प्रयोगकर्ता मात्र होइनौं, हामी संस्कृतिको वाहक पनि हौँ। कृपया हाम्रो पहिचानलाई तिमी स्वीकार गर। हाम्रो समयलाई तिमी अँगाल। अनि विक्रम सम्वतको सम्मान गर, ताकि म मेरो वास्तविक जन्ममिति लेख्न र राख्न सकूँ। किनकि फेसबुक, तिमी केवल मेरो प्रेमिका होइनौ, तिमी मेरो समयकी साक्षी पनि हौ। अब जवाफ तिम्रो हो—के तिमी भविष्यलाई अँगाल्न चाहन्छ्यौ?

उही तिम्रो अब्बल प्रयोगकर्ता
_____________________
इश्वरी घिमिरे

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...