अबको युग निश्चित रूपमा AI (कृत्रिम बुद्धिमत्ता) को युग हुनेछ। जहाँ विज्ञान र प्रविधिको तीव्र विकाससँगै मनुष्यको कल्पनाशक्ति र मस्तिष्कले सीमितता पार गरिसकेको हुनेछ। एआईले मानव जीवनका लगभग सबै पक्षलाई अत्यन्तै गहिरो रूपमा प्रभावित गरिरहेको त छ नै, साथसाथै चुनौती पनि दिइनै रहेको छ। यदि कुनै पनि व्यक्ति एआईसँग जोडिएन भने अबको प्रतिस्पर्धात्मक संसारमा उसको अस्तित्व नै खतरामा पर्न सक्छ। एआईले परिवर्तनका नयाँ युगको ढोका खोलिसकेको छ, त्यसमा आफूलाई अनुकूल नगर्नु भनेको समयको लयसँग नचल्नु र पछाडि धकेलिनु जस्तै हो।
हो, त्यही कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) र मानव बुद्धिमत्ता (Human Intelligence) को सहकार्यले शैक्षिक जगतमा नयाँ दिशा दिने क्षमता राख्दछ। के तपाईंलाई थाहा छ- अहिलेका परम्परागत शिक्षकहरूले पढाएको भन्दा एआईले पढाएको हजारौं गुणा बढी प्रभावकारी हुन सक्छ। विशेष गरी एआईको उत्थानसँगै शिक्षा प्रणालीमा क्रान्ति ल्याउने सम्भावना प्रकट भएको छ। अबको युगमा एआई मात्र एक साधन नभएर बरु शिक्षा क्षेत्रमा एक अपरिहार्य सहकर्मी बन्नेछ। एआईले आजको शिक्षा प्रणालीलाई अत्यधिक सुधार गर्न र विद्यार्थीहरूको सिकाइ प्रक्रियामा गुणात्मक वृद्धि ल्याउन सक्ने क्षमता राख्दछ।
एआईको एक उल्लेखनीय विशेषता भनेको यसले अपार जानकारीको महासागरबाट तुरुन्तै आवश्यक जानकारी निकाल्न सक्छ र उच्चतम् स्तरको उचित उपदेश दिन सक्छ। यसले विद्यार्थीलाई आफ्नो व्यक्तिगत आवश्यकता र गति अनुसार सिक्न सहयोग पुर्याउँछ। परम्परागत शिक्षकहरूको पद्धतिमा कक्षामा सबै विद्यार्थीलाई एउटै ढंगले सिकाउने प्रवृत्ति देखिन्छ। अधिकांश शिक्षकहरूको समस्या नै यही हो। जसका कारण कतिपय विद्यार्थीले आफूलाई निखार्ने अवसर नै पाउँदैनन्। जबकि एआईले सिकाइलाई व्यक्तिगत बनाउँछ र विद्यार्थीको आवश्यकता अनुसार आफूलाई अनुकूल गर्न सक्छ। जसले ज्ञानको प्रवाहलाई तीव्र बनाई सिकाइको दरलाई सुधार गर्दै विद्यार्थीलाई अधिक प्रभावकारी तरिकामा जानकारी प्राप्त गर्न मद्दत गर्दछ। तैपनि एक महत्त्वपूर्ण बिन्दु भनेको —मानव बुद्धिमत्ताको महत्व र शिक्षकको भूमिका हो। शिक्षकले केवल निर्देशन दिने होइन; भावनात्मक र मानसिक रूपमा विद्यार्थीलाई साथ दिने हो। अनि आफ्ना अनुभव र ज्ञानबाट विद्यार्थीलाई मार्गदर्शन गर्ने हो र जीवनका गहिरा पाठ पनि सिकाउने हो। शिक्षकको मार्गदर्शनले विद्यार्थीलाई प्रेरणा र आत्मविश्वास दिन्छ, जुन केवल शिक्षा मात्र होइन, जीवनका अन्य महत्त्वपूर्ण मूल्यहरूलाई पनि समावेश गर्छ।
तर भविष्यको शिक्षक केवल विद्यार्थीलाई दबाबमा राख्ने खालको हुनुहुँदैन। बरु एक कदम अगाडि बढेर एआईलाई निर्देशन [Prompt] दिने र यसको उपयोग गरेर शिक्षा प्रणालीलाई अझ सुधार गर्ने भूमिकामा हुनु पर्छ। हो, शिक्षकले एआईलाई कसरि प्रयोग गर्ने, के सिकाउने र कुन तरिकामा सिकाउने भन्ने निर्णय लिन सक्छन्। तबमात्र शिक्षक र एआईको सहकार्यमा आधारित शिक्षा प्रणालीले अझ प्रभावकारी, सशक्त र व्यक्तिगत सिकाइ अनुभव प्रदान गर्न सक्छ।
यसको अर्थ के हो भने, शिक्षा अब केवल प्रविधि र परम्परा बीचको द्वन्द्वमा सिमित छैन। मानव बुद्धिमत्ता र कृत्रिम बुद्धिमत्ताको सम्मिलनको प्रयोगले शिक्षा प्रणालीलाई नयाँ उच्चाईमा पुर्याउन सक्छ। एआईले विद्यार्थीको व्यक्तिगत र शैक्षिक आवश्यकताहरूलाई ध्यानमा राख्दै उनीहरूको सिकाइलाई अनुकूल पार्न सक्छ भने, शिक्षकहरूले जीवनका वास्तविक पाठ र मुल्यहरूको साथ उनीहरूको विकासमा सहारा दिई मार्गदर्शन गर्न सक्छन्।
यसरी शिक्षक र एआईको सहकार्यले भविष्यको शिक्षा प्रणालीलाई अधिक प्रभावकारी, सफल, सार्थक, योग्य र प्रेरणादायक बनाउन सकिन्छ। जसले शिक्षणको दायरालाई नयाँ आयाममा पुर्याउँछ। शिक्षकले एआईलाई केवल एक साधनको रूपमा प्रयोग गर्नु हुँदैन। यसको शक्तिलाई अनलॉक गरेर ज्ञानको गहिराईमा प्रवेश गर्ने एक महत्त्वपूर्ण मार्गदर्शकको रूपमा प्रयोग गर्नुपर्दछ। यही हो भविष्यको शिक्षण प्रणाली—कृत्रिम बुद्धिमत्ता (AI) र मानव बुद्धिमत्ता (HI) को सम्मिलन।
No comments:
Post a Comment
कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...