Pages

Tuesday, June 5, 2012

Happy Birthday To This Blog

   आज मैले ब्लग लेख्न थालेको ठिक १ वर्ष पूरा भएको छ । १ वर्ष पहिले International Web Research Association प्रवेश सँगै मेरो ब्लगिङ्ग यात्रा सुरुभएको थियो भने ७ वर्ष पहिले काठमाडौँको नयाँबानेश्वरमा एक साथीको घरबाट मेरो “कम्प्युटर जिवन” सुरु भएको थियो । मलाई त्यो पहिलो दिनको सम्झना सँधै भइरहन्छ र सँधै भइरहने पनि छ । मलाई “कम्प्युटर” चलाउन सिक्नु थियो । त्यसै अभिप्रायले म साथीसँग अनुरोध गरेर “कम्प्युटर” सिक्न त्यहाँ गएको थिएँ । उनले (साथीले) त्यतिबेला कम्प्युटर सिकाइदिन्छु भनेर मसँग १००० रुपैयाँ पनि लिएका थिए । लगभग ८/१० दिनको सामान्य सिकाई पछि हाम्रो यात्रा साइबरतिर हुन थाल्यो, किनकि मलाई “ईमेल” चलाउन पनि सिक्नु थियो । त्यतिबेला साथीको कोठामा इन्टरनेटको व्यवस्था थिएन । त्यसैले प्रतिघण्टा २० रुपैयाँ तिरेर साइबर धाउन बाध्य थिएँ म । त्यो क्रम पनि लगातार ८/१० दिन सम्म चलिरह्यो ।

   त्यतिबेला साथीलाई पनि इन्टरनेट सम्बन्धी खासै ज्ञान रहेनछ, जुन कुरा मलाई निकै पछि मात्र थाहा भयो । ज्ञानकै कमीले गर्दा होला एउटा नयाँ इमेल ठेगाना बनाउन पनि साथीले सक्दै सकेनन् । बरु उल्टै कम्प्युटरलाई दोषी देखाउँथे, इन्टरनेट स्पिड नै गतिलो भएन भन्थे । त्यत्तिकै एकाध घण्टा बुत्याईदिन्थे ।  खाली कम्प्युटरलाई नै दोष दिएर Trun off, on, off, on  मात्रै गरिरहन्थे ।
   झुक्किएर होला बेलाबखतमा भने उनले कम्प्युटरको स्क्रिनमा झिलिमिलि तस्बिर देखाउँथे । मलाई धेरै पछि थाहा भो त्यो त पोर्न साइट पो खोलेका रहेछन् भनेर । होमपेजमा ती साइटहरु ‘सेट’ भएका रहेछन् । इन्टरनेटमा “पोर्न” हुँदोरहेछ भन्ने कुरा पनि पछि मलाई थाहा भो । “काला अक्षर भैँस बराबर” भनेझैँ, त्यति बेला मेरो दिमागले केही भेउ पाउन सकेको थिएन ।
   त्यसपछि ३/४ वर्ष सम्मन् म एकपटक पनि साइबर गइनँ । ३/४ वर्ष पछि भने हप्तामा १/२ पटक साइबर धाउँथेँ, तर मलाई ईन्टरनेटको एकछेउ पनि थाहा थिएन । मलाई इन्टरनेट सिकाइदिने र यसरी चलाउनुपर्छ, यहाँ एकाउन्ट बनाउनुपर्छ, यहाँ यसो गर्ने, त्यहाँ त्यसो गर्ने भन्ने कोही भएनन् । अत: मलाई एउटा ईमेल बनाउन ३/४ हप्ता नै लाग्यो ।
   याहुमा आफ्नो पहिलो ईमेल बानेश्वरकै एउटा साइबरबाट बनाएको थिएँ । बानेश्वरको मिलनचोकमा रहेको एउटा साइबर पसलमा ईन्टरनेट सस्तै थियो । त्यहीँको साइबर धाउँदा-धाउँदै खै कसरी ईमेल बन्यो, अहिले यसै भन्न सक्दिनँ । तर म आफ्नो ईमेल र याहु म्यासेन्जर कहिल्यै साइनआउट गर्दोरहेनछु भन्ने कुरा मलाई पछि मात्र ज्ञान भयो । जति बेला त्यस अकाउण्टको पासवर्ड चेन्ज भैसकेको थियो ।
   ईमेल नचलाउन्जेल, अनि मोबाइल नबोकुन्जेल मात्रै पहाड नै हुन् कि जस्तो लाग्दो रहेछ । तर यथार्थमा त्यस्तो हुँदो रहेनछ । यो त चलाउँदै जाँदा आफैँ सिकिने कुरा पो रहेछन् त । अहिले म कम्प्युटर, इमेल, इन्टरनेट राम्रैसँग चलाउन सक्छु । फ्रील्यान्सिंगको काम पनि गर्छु । जसमा प्रोग्रामिङ्गको पनि ज्ञान हुनुपर्दछ । यतिबेला मलाई कति साथीहरू लौ न फेसबुकमा पोर्न भिडियोको भाइरल पोस्टिंग भो, इमेलले काम गरेन, साइट ह्याक भो, साइट खुलेन भन्ने पनि गर्छन् । यतिबेला मलाई बर्नाड सअको एउटा भनाई याद आयो “तपाइँ एउटा मान्छेलाई केहि कुरा पढाउनु हुन्छ भने, उसले केहि सिक्दैन” । हो, वास्तवमा कुरा सहि हो, पढ्ने कुरा भनेको सक्रिय क्रिया हो, कसैले मुखले भन्दैमा केहि हुँदैन, जब सम्म आफैँले गरिँदैन तबसम्म केहि सिकिँदैन । अझ टेक्निकल कुरामा त यो कुरा झन् लागू हुन्छ । हस्त ! तपाईँले पनि यसको मर्म बुझ्नु नै भो होला, धन्यवाद ...

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...