मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
विचार, साहित्य, सिर्जना र जानकारीको संगम स्थल यो साझा चौतारी / Sajha Chautari मा तपाईंलाई हार्दिक स्वागत छ......कृपया आफ्नो अमूल्य सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद......यदि तपाईंहरू पनि यो साइटमा भएका विषयवस्तुहरूसँग सम्बन्धित आफ्ना लेख रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तल View my complete profile मा दिइएको E-mail ठेगानामा पठाउनुहुन अनुरोध गर्दछु ......

Saturday, June 25, 2011

मेरो पढ्ने कोठा (निबन्ध)

      सामान्यतयाः अध्ययनका लागि अध्येताले शान्त ठाउँलाई रुचाउँछन्, एकान्त मन पराउँछन्, सुनसान ठाउँ चाहन्छन्। तर विद्यालयीय जीवनमा गरिने अध्ययनका लागि भने एकान्त नै चाहिन्छ भन्ने छैन। स्वाध्ययनका लागि भने एकान्त सबैको रोजाइ बन्न सक्छ। मलाई पनि विद्यालय र विश्वविद्यालयमा भर्ना भएर अध्ययन गर्दा एकान्तको जरुरत नभएपनि स्वाध्ययनका लागि भने एकान्तै मन पर्छ। त्यसैले मैले आफ्नो ज्ञानको भोक र सोखले गर्दा अध्ययनका लागि एउटा बन्ध तर शान्त कोठाको व्यवस्था गरेको छु। जहाँ धेरै वसन्त बिताएको पनि छु। त्यहीँबाट कनिकुथी गरेरै भएपनि आफ्नो ज्ञानको भोक र सोख तृप्ति गर्ने गरेको छु। जसलाई म मेरो पढ्ने कोठा भन्न चाहन्छु। 
हुन त मैले मेरो पढ्ने कोठालाई पढ्नका लागि मात्रै प्रयोग गर्न सकेको छैन। यसमा मलाई ठूलो दुःख लागेको छ। तर बाध्यता एवम् विवशताले गर्दा मन नभईनभईकन पनि यसलाई मैले बेडरुम र किचनरुमको रुपमा पनि प्रयोग गर्ने गरेको छु। जसको कारणले मेरो पढ्ने कोठा कहिलेकाहीँ मैसँगै रिसाइदिन्छ, चुर भइदिन्छ। यतिसम्म कि बेलाबखत त मबाटै अलग्गिएर कता हो कता बेपत्तै भइदिन्छ। जसलाई जति नै खोज्दा पनि भेट्नै सक्दिनँ। आफ्नो प्यारो पढ्ने कोठै नभेटेपछि पढ्ने त झन् कुरै भएन। 
      मेरो पढ्ने कोठा दिउँसो बाहेक प्रायः मैसँगै रहन्छ भन्दा फरक पर्दैन। शनिबारको दिन त पूरै समय मेरै वरिपरि घुमिरहन्छ, अथवा भनौँ मै उसको वरिपरि घुमिरहन्छु। त्यस दिन म आफू मात्र हैन, उसलाई पनि नुहाइधुवाई गर्न सिकाउँछु। ऊ पनि मेरो सहयोग र साथ पाएर मख्ख पर्दै सुन्दर र चिटिक्क परी प्रीत लगाउन हतारिँदै आफ्नो सुन्दरताले मलाई आकर्षित गर्दछ। अनि म पनि उसैको काखमा लुटपुटिँदै किताबका पानाहरूमा आँखा डुलाउन पाउँदा स्वर्गीय आनन्द र सुखको अनुभव गर्दछु। 
मेरो पढ्ने कोठामा एउटा लामो किताब राख्ने र्याक छ। जहाँ कहिल्यै नपढेका वर्षौँ पुराना किताबहरू दराजको शोभा मात्र बनेर थन्किएका छन्। आफूलाई कहिल्यै पनि वास्ता नगरेकाले मानौँ तिनीहरू मसँग ठुस्किएका छन्। साँच्चै कहिलेकाहीँ तिनीहरूलाई यसो नियालेर सुम्सुम्याउन खोज्दा दाजुभाइको चेपुवामा परेकैले होला कुनैको टाउको त कुनै को हात अनि कुनै को खुट्टा नै भाँचिएको हुन्छ। ओहो ! आफ्नो दाजुभाइप्रतिको माया कति गाढा हुन्छ हगि ! आफ्नो यो हविगत हुँदा पनि मिलेरै बसेका छन् भन्दै तिनलाई धाप मार्दै फेरी यथास्थानमा राख्छु। मेरो पढ्ने कोठामा एउटा म पढ्ने टेबुल छ, अर्को कम्प्युटर टेबुल छ, अनि अर्को टि टेबुल छ। दुईटा काठका कुर्सी छन्। एउटा फुच्चे मुढा पनि छ। मैले भनिहालेँ मैले मेरो पढ्ने कोठालाई पढ्नको लागि मात्रै प्रयोग गर्न सकेको छैन। त्यसलाई नै मैले बेडरुम र किचेनरुम पनि बनाएकाले मेरो पढ्ने कोठामा एउटा स्टिल दराज र दुईटा खाट पनि छन्। त्यति मात्रै कहाँ हो र? एउटा किचेन र्याक र अर्को भाँडाकुँडा राख्ने र्याक पनि छ। अनि किचेन सामग्री पनि प्रशस्तै छन्। यि सबै कुराले गर्दा मेरो पढ्ने कोठाको स्वरुप नै कुरुप भएको छ। कस्तो दरिद्रको फेला परिएछ गाँठे, एउटै कोठालाई तीनतीनटा प्रयोजनको लागि प्रयोग गर्ने बेलाबेला मेरो पढ्ने कोठा मनमनै गुनासो पोख्दो हो। तर के गर्नु ? आफ्नो त स्वरुप कुरुप भैरहेको बेला मैले कोठाको माग पूरा गर्न के सक्थेँ र! एकपटक डेरा सर्दा अङ्गभङ्ग भएको इर्न्भटर टेबुलको घाइते शरीरले पनि त्यही कुराको प्रमाणित गर्थ्यो। 
मेरो पढ्ने कोठाको भित्तामा मैले सिनेमाका कुनै पनि हिरोनी अथवा मोडलहरूको तस्बिर झुन्ड्याएको छैन। किनकि म उनीहरूको अश्लिल तस्बिरलाई देखाएर आफू उत्ताउलो बन्न चादिनँ। मेरो कोठामा न त परीक्षामा अनुत्तीर्ण तर राजनीतिमा समुत्तीर्ण हुन अप्राकृतिक गठबन्धनको निर्माण गर्न पनि पछि नपर्ने कुनै नेताको तस्बिर नै झुन्ड्याइएको छ। किनकि विकासको समीकरणभन्दा सत्ता समीकरणमा बढी जोड दिने  त्यस्ता नेताहरूको तस्बिर राखेर म आफ्नो कोठालाई बिटुल्याउन चाहन्नँ। तिनीहरूको खोक्रो आस्थाको विज्ञापन गरेर आफ्नो थैली भर्न म जान्दिनँ। भलै, भौतिक रुपले कुरुप भएपनि अन्य हिसाबले अपवित्र पार्न चाहन्न। बरु मेरो कोठाको भित्तामा मनोरम प्राकृतिक दृश्यहरूले ठाउँ पाएका छन्, जसले आकाशसँग मीत लाएका छन्, समुन्द्रसँग प्रीत लाउन हतारिएका छन्, अनि तिनैले धर्ती आकाशको साइनो गाँसी स्वर्णिम सौन्दर्यको सुगन्ध थपिदिएका छन्। कतैकतै भने नयाँ पुराना गरी २/३ ओटै क्यालेन्डर झुन्डिएका छन्। जसले मलाई दिन, हप्ता, महिना र वर्षको पाठ सिकाएका छन्। 
       मैले मेरो पढ्ने कोठाको भित्तामा एउटा भित्ते घडी पनि झुन्ड्याएको छु। मलाई सबैभन्दा बढी खबरदारी त्यसैले गरेको हुन्छ। मेरा आँखा किताबका पानामा हराइरहेका बेला वा भनौँ अन्य सुसेधन्दामा व्यस्त रहेका बेला बारम्बार उसले मेरो ध्यान आफूतिर आकृष्ट गराउँछ। यति सम्म कि म जस्तो हुस्सू, भुलक्कड र अल्छेलाई ए ! अफिस जान ढिलो भएन? भनी बेला बेलामा झक्झक्याउने गर्छ। अनि म पनि हत्तपत्त समालिँदै उसैले भनेबमोजिम आफ्नो रोजीरोटीको बाटो पक्रन्छु। त्यसैले उसलाई मैले मेरो निजी सचेतकको जिम्मा पनि दिएको छु।  
       मैले मेरो पढ्ने कोठामा एउटा कम्प्युटर सेटलाई पनि भित्र्याएको छु। उसको एउटा फुच्चे पनि छ, जो टि.भि. कार्डको नामले परिचित छ। म कति समय त त्यही फुच्चेसँगै लुकामारी गर्छु। मलाई उसँग खेल्न खुब मन पर्छ। ऊ पनि मसँग खेल्न पाएकामा मख्ख पर्दै मलाई क्षणभरमै संसार डुलाउँछ। दुनिँयाका खबर एकै सासमा अवगत गराउँछ। कहिलेकाहीँ आधुनिक हुन पारदर्शी लुगा लगाएर नाचिरहेका नतर्कीहरूको भीडमा पुर्याउँदा भने मलाई तिनीहरूको चरित्रावलोकनबाट लज्जाबोध हुन्छ। ऊ अगाडि छउन्जेल उसले मेरो ध्यान किताबमा पर्नै दिँदैन। मलाई पनि ऊ अगाडि नभए चित्तै बुझ्दैन भन्या। कम्प्युटरले त झन् मलाई छोड्दै छोड्दैन भन्दा पनि हुन्छ। ऊ त झन् मेरो आत्मीय मित्र बनिसकेको छ। कम्प्युटर क्रान्तिको यस युगमा ऊसँगै संसार खोतल्न पाउँदा कम्ती रमाइलो हुँदैन। उसैको अद्भुत कल्पनातीत उपलब्धि र जादुले गर्दा मेरो ऊ सँग माया प्रीति नै बसिसकेको छ।
उता टि.भि. र कम्प्युटरको खलनायकी प्रवृत्तिले गर्दा रिसले चुरचुर बनेका सारा बूढापुराना र नयाँ किताबहरू ठूल्ठूलो स्वरले गुञ्जिने रेडियोको कोलाहलले रिसाएर चौपट! तर के गरुन् उनीहरू बोल्न, भन्न सक्दैनन्। नत्र उनीहरूले पनि जानेका थिए होलान् नि। तर मलाई भने सारा पुस्तकहरूले चैतेको विभूषण देलान् कि भन्ने डर, तर के गर्नु टि.भि., कम्प्युटर र रेडियोसँग पनि त पारपाचुके गर्न सकिँदैन। न त छुट्याएर राख्न सक्ने अवस्था नै छ आफ्नो। अनि त किताबहरूको टोकसो सहनुभन्दा अरु के नै पो छ र उपाया। तैपनि म समय मिलाएरै भएपनि किताब पढ्ने गर्छु। यो क्रमलाई मैले हत्तपत्त टुटाएको छैन। कहिलेकाहीँ भने खाटमा सुतेर पढ्ने बानीले गर्दा पढ्ने टेबुलले गिज्याइरहेको जस्तो लाग्छ, कुर्सी पनि रिसाएको हो कि भन्ने भान हुन्छ। कहिलेकाहीँ फुच्चे मुढो पनि कुर्सीसँग कानेखुसी गर्न जान्छ। लाग्छ घुम्ने र लचकदार कुर्सी भए हामी माथि बस्न कस्तोकस्तो समीकरण गर्न पनि पछि पर्दैनथ्यो होला, अझ म त जाबो बाँसको सिङ्काको न परे यस्तै भनिरहेको होला। हो म प्रायः मुढामा बस्दिनँ। बरु खाटमै सुतेर एक्लैएक्लै किताबका पानामा घोत्लिरहन्छु।
       कुन्नि किन हो, मेरो कोठामा गाउने गायक प्रशस्तै भए पनि नाच्ने नायक भने छँर्दै छैनन्। पढ्दापढ्दै आँखा टोलाउन थालेपछि जब म ओछ्यानमा सुत्न पुग्छु तब कुन्नि केके हो केके गुनगुनगुनगुन गर्दै कुनाकन्दराबाट गायकरुपी लामखुट्टेहरू बाहिर निस्कन्छन्। अनि जब म उठ्छु र बत्ति बाल्छु तब फेरि भूमिगत भैहाल्छन्। गीतको भाकामा लठ्याएर रगत चुस्न पल्केका लामखुट्टे महोदयहरूले यो लोकतान्त्रिक अवस्थामा पनि किन प्रजातन्त्रको राप अलापेर निरङ्कुशतन्त्र खोजेका होलान्।
       मेरो पढ्ने कोठाको यस्तो अवस्थाले मलाई आधुनिक युगको समयानुकूल चल्न नसक्ने एक निरीह व्यक्तिका रुपमा प्रस्तुत गर्दो हो। त्यसैले मेरो पढ्ने कोठाले पनि म जस्तो अकिञ्चन आएर बसिदिएकोमा आफ्नो पुर्पुरोमा धारे हात नै लाउँदो हो।

No comments:

Post a Comment

कृपया प्रतिक्रिया दिँदा सभ्य तथा शिष्ट भाषाको प्रयोग गरिदिनुहोला ! धन्यवाद...